radio icon

Live Radio

काठमाडौँ उपत्यकामा डेङ्गुको खतरा

  • radionrn
  • प्रकाशित मिति : आइतवार, भदौ ८, २०७६


तराईका जिल्लामात्र नभई काठमाडौँ उपत्यकामासमेत डेङ्गु सङ्क्रमण प्रकोपको रूपमा देखा पर्ने खतरा बढेको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उपत्यकामा मात्र ५९ जना व्यक्तिमा डेङ्गु सङ्क्रमित बिरामी भेटिएको पुष्टि गरेपछि थप खतरा बढेको हो ।

महाशाखाका प्रमुख डा. विवेककुमार लालले विगतमा पनि काठमाडौँमा डेङ्गु सङ्क्रमित बिरामी भेटिएको तर यो वर्ष सङ्ख्या निक्कै बढेको बताउनुभयो । महाशाखा प्रमुख लालले सरकारी र निजी गरी विभिन्न १० वटा अस्पतालमा डेङ्गु सङ्क्रमित बिरामी रहेको बताउनुभयो । उहाँका अनुसार रोग नियन्त्रण महाशाखामा मात्र ५९ जना सङ्क्रमित बिरामी रहेका छन् ।

महाशाखाका जनस्वास्थ्य अधिकृत उत्तम प्याकुरेलले बानेश्वर, ताहचल, बालाजु, त्रिपुरेश्वर, टेकूलगायतका क्षेत्रमा बस्ने व्यक्तिलाई डेङ्गुको सङ्क्रमण भएको जानकारी दिनुभयो । हालसम्म पूर्वी नेपालमा फैलिएको डेङ्गु अझै नियन्त्रणमा आउन सकेको छैन । सङ्क्रमितको सङ्ख्या अझै बढ्न सक्ने भन्दै उहाँले काठमाडौँ उपत्यका पनि डेङ्गुको उच्च जोखिममा रहेको बताउनुभयो ।

महाशाखा प्रमुख डा. लालका अनुसार काठमाडौँ उपत्यका तथा अन्य स्थानमा डेङ्गु सार्ने लामखुट्टेको प्रजाति भेटिएका छन् । डेङ्गुको मुख्य लक्षण एक्कासी उच्च ज्वरो आउनु ,ज्वरो पाँच देखि सात दिनसम्म रहने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार