radio icon

Live Radio

प्रधानमन्त्रीलाई बिश्राम दिएर नयाँ प्रधानमन्त्री छान्न कांग्रेसको आग्रह, आफ्नो दलको अस्तित्व नखोज्न सत्तापक्षको आग्रह

  • radionrn
  • प्रकाशित मिति : बुधबार, भदौ १८, २०७६


काठमाडौं । मृगौलाको उपचारका लागि सिंगापुर गएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले उतैबाट भिडियो कन्फ्रेन्स गरेर मन्त्रिपरिषदका सदस्यसँग छलफल चलाए । उक्त छलफललाई मन्त्रिपरिषद् बैठक भनिएपछि विरोधको सामना पनि सरकारले गर्नु प¥यो ।

विरोधकैबीच ओलीले मंगलबार दोस्रोपटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिरिषद्का सदस्यहरुसँग छलफल चलाए । बिरामी परेर उपचारका लागि गएका बेला समेत विदेशबाटै भिडियो कन्फ्रेन्स गरेर ओली आफ्नो स्वास्थ्यअवस्था देश चलाउन सक्षम रहेको सन्देश दिन चाहन्थे । तर प्रधानमन्त्रीको यो चाहनालाई प्रमुख विपक्षी कांग्रेसले रोक्न खोजेको छ ।

ओलीको स्वास्थ्यअवस्थाबारे अनेकन अड्कल चलिरहेका बेला आज प्रमुख प्रतिपक्षी दलका सांसद गगन थापाले बिरामी प्रधानमन्त्रीलाई आराम गर्न दिएर नयाँ प्रधानमन्त्री छान्न सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीलाई आग्रह गरेका छन् ।

आज संसदको विशेष समयमा सांसद थापाले प्रधानमन्त्रीले नियमित रुपमा विदेश जानुपर्ने र सरकार सञ्चालनमा सक्रिय हुन नसकेकाले अब विश्राम दिनुपर्ने बताउनुभयो । झण्डै दुईतिहाईको बहमुत रहेको नेकपाले ओलीलाई राजीनामा दिन लगाएर अर्का नेतालाई प्रधानमन्त्री बनाउन उहाँले सुझाव दिनुभयो ।

कांग्रेस सांसद थापाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था अब देश हाँक्न सक्ने नरहेको बताएपछि सत्तारुढ नेकपाका सांसदले प्रतिवाद गरेका थिए । गगन थापालाई जवाफ दिँदै सत्तारुढ नेकपाका सांसद सूर्यप्रसाद पाठकले प्रधानमन्त्रीको राजीनामालाई आफ्नो दलको अस्तित्व जोगाउने रणनीतिका रुपमा नलिन आग्रह गर्नुभयो ।

त्यसलगत्तै पाठकको भनाईप्रति कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले आपत्ति जनाउनुभयो । उहाँले अस्वस्थ प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दा र आराम गर्न सुझाव दिँदा पनि नझस्किन आग्रह गर्नुभयो ।

यसअघि उपचारका लागि दोस्रो पटक सिंगापुर जानु अघि प्रधानमन्त्री ओलीले एक सार्वजनिक कार्यक्रममा केही व्यक्तिहरुले आफूलाई मरिहालोस् भने पनि १५ वर्ष तगडा भएर राजनीतिमा होमिने भएकोले सामनाका लागि तयार रहन चुनौती दिनुभएको थियो । हाल सिंगापुरमा रहेका ओलीको उपचार प्रक्रिया आज सकिएको बताइएको छ । तर उपचार सकिए पनि ओलीले पार्टी महासचिव विष्णु पौडेल र संगठन विभाग प्रमुख बामदेव गौतमलाई किन सिंगापुर बोलाए भन्ने विषय शंकास्पद बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार