radio icon

Live Radio

डेंगु नियन्त्रण बाहिर, सरकार एक्लैले नियन्त्रण गर्न सम्भवै नभएको स्वास्थ्य मन्त्रालयको भनाई

  • radionrn
  • प्रकाशित मिति : बिहिबार, भदौ १९, २०७६


काठमाडौं । पूर्वी नेपालबाट महामारीको रुप लिएको डेंगु रोग मुलुकभर फैलँदो छ । हजारौँ नागरिकहरु प्रभावित भएर केहीको मृत्यु भइसकेका बेला यसको नियन्त्रणका लागि प्रभावकारी कदम चालिएको छैन ।

एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले टोकेमा सर्ने यो रोग पहाडी जिल्लामा समेत फैलने क्रम बढेपछि स्वास्थ्यकर्मीहरु थप चिन्तित बनेका छन् । यो रोग नियन्त्रणका लागि लामखुट्टेको टोकाइबाट बच्नुको अर्काे विकल्प छैन । त्यसैले लामखुट्टे नष्ट गर्नु डेंगुबाट बच्ने एक मात्र उपाय हो । तर सरकार आफ्नो एक्लै प्रयासले यसको रोकथाम गर्न नसक्ने बताइरहेको छ ।
डेंगु नियनन्त्रणका लागि सेना तथा प्रहरी नै परिचालन गर्नुपर्ने बेला भइसकेको उपप्रधान तथा स्थास्थ्य मन्त्री उपेन्द्र यादवको भनाई छ ।

डेंगु रोगको प्रकोपले विकराल रुप लिन थालेका बेला सरकारका एकजना मन्त्री नै यसबाट पीडित बनेका छन् । डेंगु रोग लागेको पुष्टि भएपछि कृषिमन्त्री चक्रपाणि खनाललाई ग्राण्डी अस्पतालमा भर्ना गरेर उपचार थालिएको छ ।

यस्तै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका दुई चिकित्सकसहित ११ जना नर्सिङ कर्मचारीलाई समेत डेंगुले संक्रमण गरेको समाचार बाहिर आएको छ ।

सरकारले डेंगु नियन्त्रणका लागि प्रयास भइरहेको तर यो पर्याप्त नभएको स्वीकारेको छ घरघरबाटै अभियान नचलाइसम्म डेंगु नियन्त्रण सम्भव नभएको भनाई छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा प्रमुख जनस्वास्थ्य प्रशासक महेन्द्र प्रसाद श्रेष्ठको ।

डेंगु एक प्रकारको ज्वरो हो । एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले टोकेमा यो रोग सर्छ । यो लामखुट्टे सफा, सङ्लो र हलचल नगर्ने पानीमा अण्डा पार्न रुचाउँछ ।

पानी जम्ने टीनका डब्बा, रंगका खाली डब्बा, थोत्रा टायर, फुलदानी, गमला, पानीका ट्यांकी, फ्रिजको पछाडि जम्मा हुने पानीमा यसले अण्डा पार्ने भएकोले घर वरीपरि पानी जम्न नदिने व्यवस्था गर्नुपर्छ ।

महामारीका रुप लिन थालेको डेंगु नियन्त्रणका लागि सेना प्रहरीसँगै स्कुले विद्यार्थीलाई स्थानीय तहको समन्वयमा अभियानकै रुपमा सहभागी गराउन आवश्यक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता श्रेष्ठको भनाई छ ।

डेंगु संक्रमित लामखुट्टेले टोकेपछि एक्कासी उच्च ज्वरो आउने र यो क्रम पाँच देखि सातदिनसम्म रहन्छ । बिरामीको आँखाको गेडी र आँखाको पछिल्लो भाग दुख्ने, असाध्यै टाउको दुख्ने र ढाड, जोर्नी तथा मांसपेशीहरु दुख्न थाल्छन् ।
यस्ता लक्षणहरु देखिएमा तुरुन्तै उपचारका लागि स्वास्थ्यसंस्थामा जान सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनको सुझाव छ ।

डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु नै एक मात्र उपाय हो । यसका लागि घर वरीपरि पानी जम्ने ठाउँ भएमा हटाउने, फ्रिजको पछाडिको पानी, कुलरको पानी, गमलाको पानी, नियमित रुपमा फेरिरहने गनृुका साथै खाली बट्टा, खाली ड्रमहरु, गाडीका काम नलाग्ने, पानी जम्ने खालका टायरहरुमा पानी जम्न दिनुहुँदैन ।

यसका साथै लामो बाहुला भएको र शरीर ढाकिने कपडा लगाउनुपर्छ । हुन त सरुवा रोग नियन्त्रणका लागि सरकारले बर्सेनि ठूलो रकम खर्च पनि गर्ने गरेको छ । तर सर्वसाधारणमा सचेतना बढाउन सरकारले गरिरहेको खर्चले प्रभावकारी नतिजा दिएको छैन । जसको उदाहरण अहिलेको डेंगु महामारी हो ।

जब प¥यो राती तब बुढी ताती भन्ने उखानझैँ डेंगु नियन्त्रणका लागि सरकारी प्रयासमा यसअघि नै कमजोरी र ढिलाइ भइसकेका बेला थप लापर्वाही नगरी तदारुकता देखाउन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार