radio icon

Live Radio

चिनियाँ विदेशमन्त्री आज नेपाल आउदै, राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गर्ने

  • radionrn
  • प्रकाशित मिति : शनिबार, भदौ २१, २०७६


काठमाडौं । राष्ट्रपति भ्रमणको तयारीका लागि चिनीयाँ विदेशमन्त्री वाङ यी आज काठमाडौँ आउदै हुनुहुन्छ । नेपालमा तीन दिन रहदाँ उहाँले चिनीयाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको तयारीका साथै द्विपक्षीय चासोका विषयमा छलफल गर्नुहुने भएको छ ।

वाङको भ्रमण नेकपा सरकार गठन भएपछि चीनको तर्फबाट भएको उच्चस्तरीय भ्रमण हो। चिनियाँ राष्ट्रपति सीको अघिल्लो कार्यकालमा पनि विदेशमन्त्री रहेका वाङ यसअघि सन् २०१४ मा नेपाल आउनु भएको थियो । पाकिस्तान हुँदै नेपाल आउने वाङको टोली १९ सदस्यीय रहनेछ । टोलीलाई परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुने भएको छ ।

चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण उपयुक्त समयमा हुने भनिए पनि मिति निश्चित भइसकेको छैन । तर असोज अन्तिम साता भारत भ्रमणमा आएका बेला सी नेपाल पनि आउने संभावना रहेको नेपाली अधिकारीहरुको भनाई छ । विदेशमन्त्री वाङले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ ।

नेपालमा रहदाँ उहाँले गर्ने भेटवार्तामा तातोपानी र केरुङ नाकाका अध्यागमनमा सहजता, रसुवाको टिमुरेमा बनाइने ड्राइपोर्टलगायतका भौतिक संरचना, चीन काठमाडौं रेलमार्ग निर्माणलगायतका विषयमा छलफल हुने एजेण्डा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओली आजदेखि नियमित काममा

स्वास्थ्य अवस्थामा केहि सुधार आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि नियमित कामलाई निरन्तरता दिन थाल्नु भएको छ ।

प्रधानमन्त्री ओली स्वास्थ्यमा समस्या देखिएपछि यही भदौ ५ गते उपचार गराउन सिंगापुर जानु भएको थियो भने अस्ति शुक्रबार फर्किनु भएको थियो ।  उहाँले आजदेखि भेटघाट, बैठक, विभिन्न कार्यक्रमहरुमा सहभागीता जनाउने प्रधानमन्त्रीको निजि सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार