radio icon

Live Radio

एसिड आक्रमणकारीलाई मृत्युदण्डको सजाय माग्दै संसदमा हंगामा

  • radionrn
  • प्रकाशित मिति : आइतवार, भदौ २२, २०७६


काठमाडौँ – नेपाली समाजमा एसिड आक्रमण गम्भीर चुनौतीका रुपमा खडा भएपछि यसको रोकथामका लागि कानुन परिमार्जनको बहसले व्यापकता पाएको छ । प्रतिनिधिसभा बैठकमा नै सांसदहरुले एसिड आक्रमणका दोषीलाई फासीको सजायको व्यवस्था गर्न माग गरेका छन् ।

नेपालको कानुनमा मृत्युदण्डको व्यवस्था नभए पनि सांसदहरुले कानुन परिमाजर्न गरेर मृत्युदण्डको व्यवस्था गर्न माग गरेका हुन् । विश्वका धेरै लोकतान्त्रिक मुलुकले पनि मृत्युदण्डको व्यवस्था गरेकोले नेपालको कानुनमा पनि मृत्युदण्डको व्यवस्था गर्न सांसद उमा रेग्मीले माग गर्नुभयो ।

उहाँले मृत्युदण्डको व्यवस्था नभएसम्म महिलामाथि अपराधका घटना नियन्त्रण हुन नसक्ने भएकोले सरकारलाई संवेदनशील हुन आग्रह गर्नुभयो ।

यस्तै सांसद जुलीकुमारी महतोले एसिड आक्रमणका घटना नियन्त्रण गर्न सरकारले कुनै ध्यान नदिएको आरोप लगाउनुभयो । उहाँले महिलाको सुरक्षाका लागि थप संवेदनशील बन्न आग्रह गर्नुभयो । महिला सुरक्षामा ध्यान नदिए बेटी पढाउ बेटी जोगाउ अभियान को कुनै औचित्य नहुने उहाँको भनाई छ ।

समाजवादी पार्टीका सांसद प्रदीप यादवले पनि एसिड आक्रमणका दोषीलाई जन्मकैद वा फाँसीको सजाय हुनुपर्ने माग गर्नुभयो । हिजो पत्रकार सम्मेलनमार्फत फासीको सजाय माग गर्नुभएका उहाँले आज संसद बैठकमा पनि उक्त कुरा उठाउनुभएको हो । सांसद यादवले कसैको जीवन बरवाद गर्नेलाई जन्मकैद वा फाँसी बाहेक अरु सजायले काम नगर्ने बताउनुभयो ।

एसिड आक्रमणमा परेकी किशोरीले बाँचुन्जेल उक्त भोग्नुपर्ने भएकाले आक्रमणमा संलग्नलाई पनि बाचुन्जेल जेलमा राख्नुपर्ने सांसद यादवको तर्क छ । यस्तै सांसद पुष्पाकुमारी कर्ण कायस्थले पनि कानुन संसोधन गरेर भए पनि एसिड आक्रमण गर्ने दोषीलाई मृत्युदण्डको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसदहरुले मृत्युदण्डको कानुन माग गरेपनि सरकारले सो कानुनको प्रस्ताव ल्याउन पहिले संविधानमा मृत्युदण्डसम्बन्धी व्यवस्था संशोधन गर्नुपर्ने हुन्छ । बहसमा उत्रेको यो विषयले कुन मोड लेला त्यो आगामी दिनले बताउनै नै छ तर एसिड आक्रमण रोक्न सरकारले यसको बेचबिखनमा भने तत्काल कडाई गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार