radio icon

Live Radio

पशुपतिमा आरतीअघि राष्ट्रगान बजाउन निर्देशन दिएपछि मन्त्री योगेश भट्टराई आलोचनाको घेरामा

  • radionrn
  • प्रकाशित मिति : सोमवार, भदौ २३, २०७६


काठमाडौँ- पशुपतिनाथ मन्दिर परिसरमा सन्ध्याकालिन आरतीअघि नेपालको राष्ट्रगान बजाउने निर्देशन दिएपछि नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई आलोचनाको घेरामा परेका छन् । आश गरिएका युवा नेताको छवि बनाएका मन्त्री भट्टराईले अपरीपक्व र आलोकाचो निर्देशन दिएको भन्दै उनीमाथि आलोचना ओइरिएको हो ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पशुपतिमा आरतीअघि राष्ट्रगान बजाउनुपर्ने मन्त्री भट्टराईको निर्देशनको संसदबाटै प्रतिकार गरेको छ । कांग्रेस सांसद भीमसेनदास प्रधानले मन्त्री भट्टराईको यो निर्देशन धर्म संस्कृति र परम्परा विरोधी रहेको बताउनुभयो । उहाँले पशुपतिमा आरतीमात्रै नभई त्यहाँ रहेको आर्यघाटमा दाहसंस्कार पनि हुने गरेकाले राष्ट्रिय गान बजाउन सान्दर्भिक नहुने बताउनुभयो।

केही दिनअघि मन्त्री भट्टराईले सन्ध्याकालिन आरतीअघि नेपालको राष्ट्रगान बजाउन पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिनुभएको थियो । मन्त्री भट्टराईको उक्त निर्देशनपछि अहिले त्यहाँ आरतीअघि राष्ट्रगान बजाउने गरिएको छ । पशुपति क्षेत्र विकास कोषका सूचना अधिकारी प्रेमहरि ढुंगानाले आदेशको पालनास्वरुप पशुपतिमा आरतिअघि राष्ट्रगान बजिरहेको जानकारी दिनुभयो ।

राष्ट्रगान बज्दा सबैले उठेर सम्मान गर्नुपर्ने हुन्छ । तर आर्यघाटमा मलामी तथा किरीयापुत्री पनि हुने भएकोले दुःखमा परेका उनीहरुलाई राष्ट्रगान बज्दा उठाउनु शोभनीय हुँदैन । यसका साथै हिन्दुहरुको आराध्यदेव मानिएको पशुपतिनाथमा विदेशी नागरिक पनि आउने गरेकोले राष्ट्रगान बजिरहँदा उनीहरुले त्यसको सम्मान गर्न सक्ने स्थिति पनि रहँदैन । त्यसैले पनि मन्त्री भट्टराईको निर्देशनपछि सुरु भएको आरतिअघि राष्ट्रगान बजाउने निर्णय फिर्ता लिन सांसद प्रधानको माग छ ।

पशुपतिनाथ मन्दिरमा आरतिअघि अनिवार्य राष्ट्रगान बजाउनु पर्ने नियमको सर्वत्र आलोचना भइरहेको छ । धेरैले सस्तो लोकप्रियता कमाउने धेयले मन्त्री भट्टराईले यस्तो निर्देशन दिएको टिप्पणी गरेका छन् । यसबारे मन्त्री भट्टराईसँग बुझ्न खोज्दा उहाँले व्यस्त रहेको बताउनुभयो । राष्ट्रगानले राष्ट्रको गरिमा बोकेको हुन्छ । यसको सम्मान गर्नु सबै नागरिकको कर्तव्य हो । कहाँ कुन अवस्थामा राष्ट्रगान बजाउने र कहाँ कुन अवस्थामा नबजाउने भन्ने विषयमा राज्य सचेत रहनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार