radio icon

Live Radio

संसदमा मागियो स्वास्थ्यमन्त्रीको राजीनामा, ‘किन कुम्भकर्ण बनेको?’

  • radionrn
  • प्रकाशित मिति : बिहिबार, भदौ २६, २०७६


काठमाडौँ – महामारीका रुपमा फैलन थालेको डेंगु नियन्त्रणका लागि प्रभावकारी कदम नचालेर बेवास्ता गरेको भन्दै संसदमा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको राजीनामा माग गरिएको छ ।

मुलकभर डेंगुको संक्रमण फैलिँदा ६ जना मानिसको ज्यान गइसकेको र हजारौँ संक्रमित भइसकेका बेला कूम्भकर्ण बनेर सुतेको भन्दै स्वास्थ्यमन्त्री यादवको राजीनामा मागिएको हो ।

प्रमुख विपक्षी नेपाली कांग्र्रेसका सांसद सञ्जय गौतमले संकटकाल घोषणा गर्ने बेला भइसक्दा समेत स्वास्थ्यमन्त्री सुतेर बसेको आरोप लगाउँदै उहाँलाई राजीनामा दिन आग्रह गर्नुभयो ।

प्रतिपक्षी मात्रै होइन सत्तापक्षका सांसदहरुले पनि डेंगु नियन्त्रणका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै कडा आलोचना गरेका छन् । संसद बैठकमा सत्तारुढ नेकपाका सासद कृष्ण गोपाल श्रेष्ठले कति जना सांसदलाई डेंगु लागेपछि सरकारको ध्यान जाने हो भन्दै प्रश्न गर्नुभयो ।

यस्तै नेकपाकै सांसद खगराज अधिकारीले पनि डेंगु रोगबारे सरकारले काम गर्न नसकेको भन्दै आलोचना गर्नुभयो । उहाँले अहिले डेंगुको प्रकोप फैलिएको हो कि महामारी सरकारले प्रष्ट पार्नुपर्ने बताउनुभयो । उहाँले डेंगुका कारण जनता त्रासमा रहेका बेला स्वास्थ्यमन्त्रालय किन सुतेर बसेको भन्दै प्रश्न गर्नुभयो ।

सांसदहरुले लगातार रुपमा डेंगुबारे आवाज उठाएपछि सभामुख कृष्णबहादुर महराले यथार्त जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई यसबारे सथासक्य चाडो सदनलाई जानकारी गराउन निर्देशन दिनुभयो।

सांसदहरुले डेंगु रोगले महामारीको रुप लिन थालेको भन्दै आलोचना गरिरहेका बेला सरकारले भने यसलाई हलुका रुपमा लिएको छ । सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले डेंगु नियन्त्रण बाहिर नरहेको जिकिर गर्नुभयो ।

विशेष गरी तराईँका जिल्लामा भेटिने डेंगुका बिरामी यसपटक पहाडी जिल्ला हुँदै हिमाली जिल्लामा समेत भेटिएपछि जनमानसमा थप त्रास फैलिएको हो । डेंगु फैलाउने लामखुट्टे सफा पानीमा बस्न रुचाउने भएकोले पानी जमाएर नराख्न चिकित्सकहरुले सुझाव दिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार